कर्णाली चलचित्र महोत्सवले दिएको सन्देश
कर्णाली चिनेका लागि श्रीखण्ड हो, नचिनेका लागि भने खुर्पाको बिँड। कर्णाली चलचित्रको लागि अध्ययनको विषय हुन सक्छ। चलचित्रमा चाहिने अर्ग्यानिक कथा, भर्जिन लोकेशन मात्र हैन, त्यहाँका लुकेका कथा, कला, संस्कृति, रीतिरिवाज र परम्पराको त कुरै नगरौं—कर्णालीमा अपार सम्भावना छ। कर्णालीका यिनै सम्भावनालाई उजागर गर्न ‘कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०८०’ हालै सम्पन्न भयो। “घुमौं कर्णाली, हेरौं कर्णाली” भन्ने नाराका साथ सुरु गरिएको महोत्सव वि.सं. २०८० फाल्गुन १८–१९ गते नेपाल पर्यटन बोर्ड, भृकुटीमण्डप, काठमाडौंमा र कर्णालीमै मिति २०८० चैत १७ र १८ गते सुर्खेत र दैलेखमा भव्य रुपमा सम्पन्न भयो।

यो महोत्सवले कर्णालीका हरेक पक्षलाई जोड्ने अवसर सिर्जना गर्‍यो। समारोहमा राज्यका उपप्रधानमन्त्रीदेखि प्रदेशका प्रमुख, संघीय सांसददेखि प्रदेश सांसद, स्थानीय तहका प्रमुखदेखि विभिन्न जिम्मेवार व्यक्तिहरू, विशिष्ट चलचित्रकर्मी, निर्माता, निर्देशक, लेखक, साहित्यकार, पर्यटन व्यवसायी लगायतको बाक्लो सहभागिता थियो।महोत्सवको उद्देश्य कर्णालीका मौलिक कथा, कला, रीतिरिवाज, भाषा, भेषभूषा, परम्परा र संस्कृतिको संरक्षण र प्रवर्द्धन गर्नुका साथै प्राकृतिक सुन्दरता, पर्यटकीय र धार्मिक स्थल तथा सम्पदाहरूलाई अन्तर्राष्ट्रियस्तरमा चिनाउनु हो। नेपाली चलचित्रलाई कर्णालीमा छायांकन गर्न सहज वातावरण बनाउने लक्ष्यसहित स्थानीय, प्रदेश र संघका जिम्मेवारहरूलाई सहभागी गराई विभिन्न चरणमा छलफल हुँदै महोत्सव आयोजना गरिएको हो।

औपचारिक कार्यक्रम मात्र नभई, महोत्सवमा चलचित्र र पर्यटन सम्बन्धी विभिन्न विषयमा सेसन तथा गहिरो छलफलहरू पनि सञ्चालन भए। संघीय सांसद ज्ञानेन्द्र शाही, दैलेख गुराँस गाउँपालिकाका अध्यक्ष टोपबहादुर बिसी, पर्यटन बोर्डका प्रबन्धक सुर्य थपलिया, चर्चित अभिनेत्री सुरक्षा पन्तको सहभागितामा प्यानल छलफल भएको थियो। त्यसको सञ्चालन लेखक तथा पत्रकार विकास सुवेदीले गर्नुभएको थियो। छलफलबाट निष्कर्ष निकालियो—चलचित्र छायांकनलाई सहज बनाउने र स्थानिय तथा प्रदेश सरकारले गम्भीरताका साथ यस अभियानलाई अघि बढाउने।

महोत्सवको दोस्रो दिन समापन समारोहमा कर्णालीका मौलिक कथा, परिवेश र चलचित्र विषयक छलफल पनि भयो। साहित्यकार डा. मधुसूदन गिरी, मोतीराज बम, लेखक ओम रिजाल सहितको विज्ञ समूहले उक्त विषयमा छलफल गरे। कार्यक्रमको सञ्चालन पत्रकार रविन्द्र सुवेदीले गर्नुभएको थियो।

अन्तिम सेसनमा ‘कर्णालीमा चलचित्र विकास र राज्यको भूमिका’ मा छलफल भएको थियो। जसमा संघीय सांसद बिनिता कडायत, कर्णाली प्रदेश योजना आयोगका उपाध्यक्ष योगेन्द्र शाही, पर्यटन व्यवसायी मेघ आले, वरिष्ठ अभिनेत्री/निर्माता करिष्मा मानन्धर र लेखक मनोज पण्डित सहभागी थिए। छलफलको सञ्चालन पत्रकार जीवन पराजुलीले गर्नुभएको थियो भने अध्यक्षता पूर्व रजिष्ट्रार तथा साहित्यकार डा. महेन्द्रकुमार मल्लले गर्नुभएको थियो।

समापन समारोह कर्णाली प्रदेश सांसद एवं समाजसेवी राजीव विक्रम शाहको प्रमुख आतिथ्यतामा सम्पन्न भयो। सांसद शाहले चलचित्र र पर्यटन विकासमा योगदान दिन कर्णाली तयार रहेको र अब नेतृत्व परिवर्तन जरुरी भएको धारणा राख्दै, नेताहरूलाई भगवान मान्ने परम्पराकै कारण राजनीति दलहरूले जनतामुखी काम नगर्दा देश छोड्नेको लर्को लागेको उल्लेख गर्नुभयो। साथै, यस्ता महोत्सवले कर्णालीको पर्यटन विकासमा योगदान दिने र आफू सधैं साथ रहने प्रतिबद्धता व्यक्त गर्नुभयो।समापनपछि नेपाली चलचित्र प्रकाश प्रर्दशन गरियो। जसरी काठमाडौं महोत्सवमा चलचित्रकर्मीहरूको भिड लाग्यो, त्यस्तै गरी कर्णालीमा भने सम्भव भएन। त्यसको दुई कारण देखिन्छन्—एक, कलाकारहरू जान नमान्ने स्थिति; अर्को, आर्थिक व्यवस्थापन। तर मुख्य कारण कलाकारहरूले कर्णाली जान नमान्नु नै हो। कर्णाली भनेपछि अनेक बाहाना आउनु स्वाभाविकजस्तै बनिसकेको छ।

चलचित्रकर्मीहरूलाई लाग्ने गरेको बुझाइ अनुसार कर्णाली टाढा छ। तर वास्तवमा काठमाडौंबाट बिरेन्द्रनगर जान एक घण्टाको हवाई यात्रा मात्रै हो, र अन्य जिल्लामा जान पनि हवाई सुविधा उपलब्ध छ। वर्षमा ५–६ दर्जन चलचित्र निर्माण हुने गरेका छन्, ती चलचित्रको प्रचार–प्रसार पूर्वी नेपालसम्म हुने गर्छ। तर कोहलपुरभन्दा उता कर्णालीमा चलचित्रकर्मी पुग्दैनन्। यो देख्दा काठमाडौंका चलचित्रकर्मीहरूले कर्णालीलाई हेर्ने दृष्टिकोण फरक रहेको स्पष्ट देखिन्छ। एउटा अध्ययन अनुसार, काठमाडौंमा आयोजना हुने अधिकांश कार्यक्रमहरूमा पश्चिम क्षेत्रका नागरिकहरूको उपस्थिति बढी हुने गरेको पाइन्छ। नेपाली कलाकारलाई माया गर्ने, फिल्म हेर्ने, सम्मान गर्ने पनि यही क्षेत्रका नागरिक हुन्। चलचित्रकर्मीहरूले अब यो कुरा बुझ्न जरुरी छ।

महोत्सव काठमाडौंमा मात्र सीमित रहेन। मिति २०८० साल चैत १७ गते (तदनुसार ३० मार्च २०२४) का दिन कर्णाली प्रदेशको राजधानी सुर्खेतस्थित होटल शुभको सभाहलमा ५०० जनाको भव्य सहभागितामा ‘कर्णाली चलचित्र र पर्यटन मन्थन २०८० : सम्भावना र यसका चुनौती’ विषयमा कर्णाली विशेष महोत्सव सम्पन्न भएको थियो।विभिन्न विधामा विषयगत प्यानल छलफल तथा अनुभव आदान–प्रदान गरिएको यस महोत्सवको उद्घाटन कर्णाली प्रदेश सरकारका प्रमुख माननीय तिलक परियारद्वारा गरिएको थियो।
महोत्सवमा संघीय सांसद सोबिता गौतम, प्रदेश सांसद माननीय राजीव विक्रम शाह र माननीय घनश्याम भण्डारी, वीरेन्द्रनगर नगरपालिकाका मेयर श्रीमती मोहन माया भण्डारी ढकाल, कर्णाली लोकसेवा आयोगका सदस्य माननीय बसन्ती शाही, कर्णाली प्रदेश योजना आयोगका उपाध्यक्ष माननीय योगेन्द्र शाही, गुराँस गाउँपालिकाका अध्यक्ष श्री टोप बहादुर बिसी, नेपाल चलचित्र विकास बोर्डका कार्यकारी अध्यक्ष श्री भुवन केसी, चलचित्र निर्माता संघका निवर्तमान अध्यक्ष/निर्माता/निर्देशक श्री आकाश अधिकारी लगायत विशिष्ट व्यक्तित्वहरू, लेखक, साहित्यकार, चलचित्रकर्मी, विभिन्न विद्यालयका सञ्चालक, पत्रकार, बुद्धिजीवी, युवा, विद्यार्थी, उद्योग–व्यवसायीहरूको बाक्लो उपस्थिति रहेको थियो।

सेशनहरू:

१. पहिलो सेशन : कर्णाली चलचित्र सम्भावना र राज्यको भूमिका
सहभागी: संघीय सांसद सोबिता गौतम, प्रदेश सांसद घनश्याम भण्डारी, मेयर श्रीमती मोहन माया भण्डारी ढकाल, निर्देशक आकाश अधिकारी
अध्यक्षता: डा. महेन्द्र कुमार मल्ल
सहजीकरण: चक्रबहादुर चन्द

२. दोस्रो सेशन : कर्णालीमा गजल संवाद
गजलकार: श्रीमती सावित्री स्वप्निल, श्री महेन्द्र चन्द महासागर, श्री नवराज कुँदन, श्री धिरेन अनुपम, श्री कपिल अञ्जान
सञ्चालन: श्री पहल असिम

३. तेस्रो सेशन : कर्णालीका कथा र चलचित्र: जनप्रतिनिधि र विज्ञको भूमिका
सहभागी: प्रदेश सांसद राजीव विक्रम शाह, गुराँस गा.पा. अध्यक्ष श्री टोप बहादुर बिसी, विकास बोर्ड अध्यक्ष श्री भुवन केसी, साहित्यकार बसन्ती शाही, लेखक डा. नवराज केसी
अध्यक्षता: वरिष्ठ अधिवक्ता एवं पूर्व महान्यायाधिवक्ता ध्रुव कुमार श्रेष्ठ
सहजीकरण: श्री प्रकाश शाही

गुराँस संवाद तथा चलचित्र पर्यटन संवाद (भिउचुला, दैलेख):
२५० जनाको सहभागितामा भएको यस कार्यक्रममा अध्यक्ष श्री टोप बहादुर बिसी, अध्यक्ष भुवन केसी, आकाश अधिकारी लगायतका वक्ताहरूले कर्णालीमा चलचित्र छायांकनको सम्भावनाको बारेमा आफ्ना धारणा राख्नु भएको थियो। चलचित्र विकास बोर्ड अध्यक्षले कर्णालीमा छायांकन स्थलको विस्तारको प्रतिबद्धता जनाउनु भएको थियो।


१. महोत्सवको लक्ष्य प्राप्ति

क. कर्णालीमा चलचित्र प्रवर्द्धन गर्न यो महोत्सव कोशेढुंगा सावित भएको छ।
ख. कर्णालीका कथा, जीवनशैली, भाषा, भेषभूषा, कला, संस्कृति र साहित्यको चलचित्रिकरण गर्न निर्माता उत्साहित भएका छन्।
ग. महोत्सवबाट सामाजिक, आर्थिक, शैक्षिक र चेतनात्मक उन्नयनको सन्देश प्रवाह भएको छ।
घ. चलचित्र पर्यटनको माध्यमबाट स्थानीय रोजगारी र आयआर्जनको सम्भावना खुलेको छ।
ङ. राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चलचित्र गन्तव्यका रूपमा कर्णाली विकास गर्न राज्यले योजना ल्याउने प्रतिबद्धता जनाएको छ।


२. उद्देश्य प्राप्ति

क. नेपाली चलचित्रबारे आम नागरिकसँग साक्षात्कार गर्ने उद्देश्यअनुसार करिब १० लाख मानिसमा सन्देश प्रवाह भएको छ।
ख. स्थानीय चलचित्रकर्मीलाई सम्मान, अनुभव आदान–प्रदान, र भावी रणनीति बनाउने प्रक्रिया सफल भएको छ।
ग. पर्यटकीय र धार्मिक स्थलहरूको प्रचार–प्रसार भएको छ।
घ. स्थानीय चलचित्रहरूको प्रदर्शनी र समालोचना गरिएको छ।
ङ. चलचित्र छायांकनको लागि वातावरण तयार भएको छ।
च. कर्णालीको मौलिक कथावस्तुमा गुणस्तरीय चलचित्र निर्माणको ढोका खुलेको छ।
छ. प्रदेश सरकार, स्थानीय सरकार र नागरिकको सहयोगबाट चलचित्र निर्माणमा सहजता ल्याउने वातावरण बनेको छ।
ज. चलचित्र भवनको अभावलाई सम्बोधन गर्न ‘घुम्ती चलचित्र प्रदर्शनी’ को अवधारणाले जोर पाएको छ।


३. महोत्सवले दिएको सन्देश

  • चलचित्र पर्यटन प्रवर्द्धनमा महोत्सवले सकारात्मक भूमिका खेलेको छ।

  • आमनागरिकमा चलचित्रको महत्व र पर्यटनसँगको सम्बन्धबारे चेतना बढेको छ।

  • चलचित्र निर्माणमा सहजीकरणको वातावरण निर्माण भएको छ।

  • राज्यलाई चलचित्र भवन निर्माण र घुम्ती चलचित्र प्रदर्शनीको अवधारणालाई प्राथमिकतामा राख्न दबाब सिर्जना भएको छ।

  • तीनै तहका सरकार, जनप्रतिनिधि, चलचित्रकर्मी र नागरिकबीच चलचित्र पर्यटनसम्बन्धी सम्भावना, चुनौती र समाधानमाथि गहिरो संवाद भएको छ।

  • विज्ञ र संचारमाध्यमको सक्रियताले महोत्सवलाई परिणाममुखी बनाएको छ।

महोत्सव काठमाडौं र कर्णाली प्रदेशको मुख्य केन्द्र सुर्खेतमा समेत आयोजना भएकाले यसलाई विशेष गरी कर्णालीका हरेक नागरिकले अझ नजिकबाट बुझ्ने मौका पाउनुभएको छ। २०८० फागुन १९ गतेको नयाँ पत्रिकाको पहिलो पृष्ठमा “कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव” को जानकारीमूलक पोस्टर प्रकाशित भएको थियो। त्यसैगरी काठमाडौंलगायत देशका प्रमुख शहरमा करिब दुई दर्जन डिजिटल डिस्प्लेमा महोत्सवको करिब एक महिना प्रचारप्रसार तथा सामग्रीहरूको प्रदर्शनी गरिएकोले आम नागरिकले कर्णालीमा भएका चलचित्र तथा पर्यटनका सम्भावनाहरूलाई नजिकबाट बुझ्ने अवसर पाएका छन्।

महोत्सवले कर्णालीको समग्र विकासमा चलचित्र तथा पर्यटनको महत्त्वमाथि छलफल तथा परिचर्चाका माध्यमबाट नयाँ दृष्टिकोण सिर्जना गरेको आयोजक समितिको धारणा छ। यो महोत्सवले देश–विदेशमा समेत सकारात्मक सन्देश प्रवाह गरेको छ।


४. महोत्सवबाट विशेष गरी कर्णालीमा चलचित्र तथा पर्यटन क्षेत्रको विकास र प्रवर्द्धन हुने विषयहरू

क. महोत्सवबाट कर्णालीका भर्जिन लोकेशनबारे जानकारी प्राप्त भएकोले चलचित्र छायांकनको अपार सम्भावनासँगै पर्यटन विकासमा योगदान पुग्ने विश्वास लिएको छौँ।

ख. नेपाली चलचित्रको छायांकन कर्णाली क्षेत्रमा विस्तार हुन नसकेको अवस्थामा महोत्सवले यसको सम्भावनाबारे अन्तर्दृष्टि दिएकोले आगामी दिनमा यहाँ छायांकन कार्य बढ्ने अपेक्षा गरिएको छ।

ग. कर्णालीबासी तथा चलचित्रकर्मीबीच अनुभव आदान–प्रदान र समस्या समाधानका लागि तीन तहका सरकारको सहभागितामा छलफलहरू भएका कारण छायांकन तथा निर्माणमा सकारात्मक प्रभाव पर्ने देखिएको छ।

घ. महोत्सवमा कर्णालीका मौलिक कथा, कला, रीतिरिवाज, भेषभूषा, परम्परा, भाषा तथा संस्कृतिमाथि छलफल गरिएकोले आगामी चलचित्रमा यिनै विषयवस्तु समेटिने विश्वास लिइएको छ।

ङ. कर्णालीका छायांकन स्थल तथा कथाबारे जानकारी प्राप्त हुँदा यहाँका चलचित्रकर्मीमा उत्साह थपिएको छ, जसले गर्दा गतिविधिहरूमा वृद्धि हुने अपेक्षा गरिएको छ।

च. छायांकन स्थल र मौलिक कथामाथि विमर्श भएकोले धेरै चलचित्र कर्णालीमा निर्माण हुने वातावरण बनाइएको छ। स्थानीय र प्रदेश सरकार तथा आम नागरिकबाट साथ–सहयोगको प्रतिबद्धतासमेत आएकोले स्थिति सहज हुने देखिन्छ।

छ. चलचित्र विकास बोर्डलाई कर्णालीमा छायांकन सम्भावनाबारे जानकारी गराइएकोले अबका दिनमा बोर्डका कार्यक्रमहरू यहाँ केन्द्रित हुने आशा गरिएको छ।

ज. निर्माता तथा टिमलाई स्थानीय निकाय र सरकारबाट प्रोत्साहन दिइने वातावरण महोत्सवबाट सिर्जना भएको छ।


५. महोत्सवले पर्यटन व्यवसायी लाभान्वित हुने कार्य

क. चलचित्र छायांकनका लागि कर्णाली जानेको संख्या बढ्ने भएकाले पर्यटन व्यवसायी, कर्णालीका व्यवसायी र कलाकार लाभान्वित हुने वातावरण बनेको छ।

ख. चलचित्र निर्माणकर्ताले कर्णालीका अनगिन्ती लोकेशन, मौलिक कथा, भेषभूषा, परम्परा, भाषा, संस्कृतिबारे पर्याप्त जानकारी प्राप्त गरेका छन्।

ग. चलचित्रका लेखक, निर्माता, निर्देशकहरू महोत्सवबाट विशेष लाभान्वित भएका छन्।

घ. कर्णालीका नागरिक तथा सहभागीहरूले चलचित्र क्षेत्रका विविध पक्षबारे राम्ररी बुझ्ने अवसर पाएका छन्।

ङ. छायांकनका लागि कर्णाली आउने मेकरहरूलाई प्रदेश, स्थानीय सरकार तथा नागरिकबाट सहयोग हुने प्रतिबद्धता गरिएकोले उनीहरू लाभान्वित हुनेछन्।


६. महोत्सवको सहभागिता संख्या

  • काठमाडौंः  पहिलो दिन – ३०० जना  दोस्रो दिन – ३०० जना

  • सुर्खेत – ५०० जना

  • दैलेख, गुराँस – २५० जना


७. कार्यक्रममा सहभागी स्रोत व्यक्तिका अनुभव तथा योग्यता

क. कार्यक्रममा राज्यका विशिष्ट पदाधिकारी, कर्णालीका दिग्गज साहित्यकार, नेपाली चलचित्र क्षेत्रका वरिष्ठ कलाकार, निर्माता, निर्देशक, लेखक, पर्यटन व्यवसायीहरू सहभागी भएर अनुभव तथा विचार आदानप्रदान गरेका कारण महोत्सव बौद्धिक तथा परिणाममुखी बन्यो।

ख. कर्णालीका दिग्गज लेखक तथा कथाकारहरूबाट मौलिक कथा र कलामाथि छलफल भएको थियो। भ्लगरहरूको समेत सहभागिताले चलचित्र निर्माणका लागि नयाँ कथा र स्थलबारे जानकारी प्राप्त भयो।


कार्यक्रमको पृष्ठभूमि

चलचित्र र पर्यटन देशको कथा, कला, रीतिरिवाज, भाषा, भेषभूषा, परम्परा तथा संस्कृतिलाई संरक्षण र प्रवर्द्धन गर्ने बलियो माध्यम हुन्। कर्णालीका प्राकृतिक सौन्दर्य, धार्मिक तथा सांस्कृतिक सम्पदालाई विश्वभर चिनाउने माध्यम चलचित्र हो। यस क्षेत्रलाई प्रचारमा ल्याउन नसकिएको कारण यहाँको पर्यटन तथा चलचित्र क्षेत्र पछाडि परेको हो। त्यसकारण “कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव” कर्णालीमा पहिलोपटक आयोजना गरिएको हो।

यस महोत्सवले छायांकन स्थलको प्रचार–प्रसार गर्दै सामाजिक, आर्थिक र सूचना प्रविधिको विकासमा टेवा पु¥याउने अपेक्षा राखिएको थियो। त्यही अनुरूप लक्ष्य प्राप्तिमा महोत्सवले कोसेढुङ्गाको भूमिका खेलेको छ।


कर्णालीको सांस्कृतिक पृष्ठभूमि

कर्णाली नेपालकै पुरानो सभ्यताको केन्द्र हो। यो कर्णाली नदीसँग जोडिएको सभ्यता हो। जल, जमिन, जडीबुटी र पर्यटन यस क्षेत्रका मुख्य आधार हुन्। नेपाली भाषाको उद्गम स्थल सिन्जा यसै क्षेत्रमा पर्दछ। कर्णाली प्रदेश देशकै अनुपम उपहार हो जहाँ दुःख मात्र होइन समृद्धिका कथा पनि छन्।

मुख्य पर्यटकीय स्थलहरू:

  • सुर्खेत – काक्रेविहार, बुलबुले ताल

  • दैलेख – महाबु, गुराँसे, मालिका, पञ्चकोशी

  • जाजरकोट – दरबार, भालुलेक, कुशे पाटन

  • सल्यान – कुपिण्डे दह, खैराबाङ मन्दिर

  • रुकुम पश्चिम – डिग्रे मन्दिर, स्र्यापु ताल

  • कालिकोट – पचाल झरना, त्रिवेणी पाटन

  • जुम्ला – सिन्जा, कनकासुन्दरी दरबार, चन्दननाथ मन्दिर

  • मुगु – रारा ताल, रारा राष्ट्रिय निकुञ्ज, छायनाथ मन्दिर

  • हुम्ला – लिमि लाप्चा, भिउदुला न्यारी क्षेत्र, मानसरोवर प्रवेशद्वार

  • डोल्पा – त्रिपुरासुन्दरी मन्दिर, शे फोक्सुण्डो ताल, धो-त्राप उपल्लो डोल्पा


आयोजकको परिचय

रेड चेरी मिडिया प्रालि, नेपाल सरकार अन्तर्गत उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको कम्पनी रजिष्ट्रारको कार्यालयमा २०७७ मंसिर १२ गते दर्ता, तथा आन्तरिक राजस्व कार्यालयमा स्थायी लेखा नम्बर ६०९५८५५९१ रहेको संस्था हो।

यस संस्थाले बृत्तचित्र, सन्देशमूलक भिडियो तथा नेपाली फिचर फिल्म निर्माणमा सरकारी तथा निजी निकायहरूसँग सहकार्य गर्दै आएको छ। संस्थाले नेपाली चलचित्र “प्रेमगीत २” को माध्यमबाट रारा, मुर्मा गाउँ, जुम्ला लगायत कर्णालीका स्थलहरूमा छायांकन गरी कर्णाली पर्यटन प्रवर्द्धनमा उल्लेखनीय योगदान दिएको थियो।

हालै रारामा सम्पन्न रारा समिट २०८० को सह–आयोजकको भूमिका समेत सफलतापूर्वक सम्पन्न गरिएको छ। हालै “कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०८०” काठमाडौं, सुर्खेत र दैलेख गरी तीन स्थानमा ४ दिन भव्य रूपमा आयोजना गरिएको थियो, जसमा राम्रो व्यवस्थापन सहित कार्यक्रम सम्पन्न गरियो। कार्यक्रमका मुख्य विषयहरू:

१. महोत्सवको काठमाडौं भाग नेपाल सरकारका उपप्रधानमन्त्री तथा रक्षामन्त्रीको प्रमुख आतिथ्यतामा र विभिन्न विशिष्ट व्यक्तिहरूको उपस्थितिमा सम्पन्न गरिएको थियो।
२. महोत्सवको सुर्खेत भागमा कर्णाली प्रदेश प्रमुखको प्रमुख आतिथ्यतामा र विभिन्न विशिष्ट व्यक्तिहरूको उपस्थितिमा सम्पन्न गरिएको थियो।
३. महोत्सवको दैलेख गुराँस भागमा नेपाल चलचित्र विकास बोर्डका कार्यकारी अध्यक्ष सुपरस्टारको प्रमुख आतिथ्यतामा र विभिन्न विशिष्ट व्यक्तिहरूको उपस्थितिमा सम्पन्न गरिएको थियो।
४. कर्णालीमा छायांकन भएका फिल्म, वृत्तचित्र तथा लघु फिल्म प्रदर्शन गरी सम्पन्न गरिएको थियो।
५. कर्णालीमा चलचित्र छायांकन गर्दा भएका समस्या, सम्भावना र चुनौतीहरूको विश्लेषण गर्दै सहकार्यका बुँदामा छलफल गरि आगामी दिनमा गर्ने सहकार्यका विषयमा निचोड निकालिएको थियो।
६. बौद्धिक बहसहरू संचालन भएका थिए, जसमा चलचित्रका कथाबस्तु, चलचित्र प्रवर्द्धन, चलचित्रको बजार विस्तार, र विभिन्न देशका सामाजिक तथा चेतनामूलक वृत्तचित्रहरू प्रदर्शन गरिएका थिए।
७. कर्णालीका भर्जिन लोकेशन, मौलिक कथा, चलचित्र लेखन, निर्माण/निर्देशन/प्राविधिक विषयमाथि गम्भीर छलफल भएको थियो।

महोत्सवमा सहभागी हुने विशिष्ट व्यक्तिहरू:

क. चलचित्र विकास बोर्ड, नेपाल पर्यटन बोर्ड, चलचित्र क्षेत्रका कला, साहित्य र संस्कृतिका क्षेत्रका विज्ञ प्रतिनिधि
ख. चर्चित कलाकार, चलचित्रका लेखक/निर्देशक/निर्माता/प्राविधिक
ग. कर्णाली प्रदेशका सांसदहरू, प्रदेश सरकार र स्थानीय पालिकाका प्रतिनिधि तथा कलाकर्मी

संरक्षक:
मुख्यमन्त्री, कर्णाली प्रदेश सरकार
सल्लाहकार श्री भुवन केसी, नेपाल कार्यकारी अध्यक्ष चलचित्र विकास बोर्ड डा. महेन्द्र कुमार मल्ल, पूर्व रजिष्ट्रार मध्यपश्चिम विश्वविद्यालय सुर्खेत
श्री शिव श्रेष्ठ, वरिष्ठ अभिनेता

संचालक बोर्ड:
काठमाडौं कार्यक्रम व्यवस्थापन समिति
कार्यक्रम निर्देशक: चक्र बहादुर चन्द
कार्यक्रमको पूर्ण जिम्मेवारी संयोजक: निर्मल पौडेल
लघुफिल्म व्यवस्थापन प्रदर्शनीको जिम्मेवारी

आयोजक सदस्यहरू:
रज्जु प्रधान – स्वागत, ब्याच तथा अतिथी स्वागत सत्कार व्यवस्थापन
बिनिता शाही – आर्थिक व्यवस्थापन
टिका ढकाल – प्रमाणपत्र, उपहार मायाको चिनो व्यवस्थापन
रबि हमाल – जलपान तथा सरसफाई व्यवस्थापन
निलम चन्द – कार्यक्रम संचालन
ललित बिष्ट – फिल्म प्रदर्शनी तथा साउण्ड सिस्टम व्यवस्थापन
सपना शाही – कर्णाली देउडा व्यवस्थापन
बिनोद शाही – ठुकरी युवा परिचालन
गोकर्ण कठायत – हल तथा सिट व्यवस्थापन
हिक्मत शाही – स्वयंसेवक परिचालन
निम्मु चन्द – कलाकार स्वागत
संगिता थापा – दर्ता व्यवस्थापन

कर्णाली प्रदेश कार्यक्रम संचालक बोर्ड:
सुर्खेत सह संयोजक: श्री हिक्मत चन्द
स्थानिय व्यवस्थापन संयोजक: श्री गोपालराज बिसी
आर्थिक व्यवस्थापन: श्री धिरेन चन्द ठकुरी
हल तथा कार्यक्रम: श्री राजेन्द्र मल्ल
नृत्यसम्पर्क तथा सांस्कृतिक कार्यक्रम: श्री यशोधा केसी
आवास तथा कार्यक्रम स्थल: श्री जनकसिंह ठकुरी
स्वागत तथा अतिथि सत्कार: श्री श्रृजना शाही
प्राथमिक उपचार: श्री निराजन ढकाल
दर्ता व्यवस्थापन: श्री प्रतिमा मल्ल
स्वयंसेवक तथा सुरक्षा व्यवस्थापन: श्री निराजन मल्ल

महोत्सवको प्रचार/प्रसार विधि:

क. महोत्सवको तिथि, मिति र उद्देश्य बारे लिड डिजिटल मिडियामार्फत देशका प्रमुख शहरमा र आमसञ्चार माध्यम र सामाजिक सञ्जालमार्फत व्यापक प्रचारप्रसार गरिएको थियो।
ख. महोत्सवको अगाडि देखि प्रोमो र सूचनामूलक जानकारीलाई अभियन्ता कलाकारहरूबाट, विभिन्न टेलिभिजन, रेडियो, सामाजिक सञ्जालमा प्रचार गरिएको थियो।
ग. महोत्सवलाई स्थानीय रेडियो, विभिन्न अनलाइन मिडिया र पत्रिका साथै विभिन्न सामाजिक सञ्जाल समूहहरूबाट प्रत्यक्ष प्रसारण गरिएको थियो।
घ. विभिन्न सामाजिक सञ्जालहरूमार्फत प्रत्यक्ष प्रसारण गरिएको थियो।
ड. महोत्सवको नयाँ पत्रिका राष्ट्रिय दैनिकको पहिलो पृष्ठमा जानकारीमूलक सामग्री राखी प्रचार गरिएको थियो।
च. विभिन्न मिडियामा अन्तर्वार्ताका माध्यमबाट समेत प्रचारप्रसार गरिएको थियो।

सहभागिता:
क. कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सवले कर्णालीमा चलचित्र र पर्यटनसँग जोडेर विशेष गरी त्यस क्षेत्रका जनप्रतिनिधि, चलचित्रकर्मी, साहित्यकार, पत्रकार, बुद्धिजीवी, उद्योगी, व्यवसायी, शिक्षक, विद्यार्थी र आम नागरिकलाई जिम्मेवारीबोध गराउन र देशविदेशमा कर्णालीबारे जानकारी दिन प्रमुख भूमिका निर्वाह गरेको थियो।
ख. प्रत्यक्ष रूपमा १३ जनाको सहभागिता रहेको थियो भने विभिन्न आमसञ्चारका माध्यम र सामाजिक सञ्जाल, विभिन्न डिजिटल माध्यमबाट देश तथा विदेशमा करिब १५ लाखले महोत्सवबारे जानकारी पाएका छन्।
ग. कर्णाली चलचित्र महोत्सवले यस क्षेत्रका आम नागरिक, कलाकार, निर्देशक, लेखक, चलचित्रकर्मी, विद्यार्थी, चलचित्रका संघ/संस्थाहरू र प्राविधिकहरूलाई नेपाली चलचित्रबारे विभिन्न जानकारी प्रदान गर्दै यस क्षेत्रमा नेपाली चलचित्रको विकास र विस्तारको ढोका खोल्ने कार्य गरेको छ।
घ. कर्णालीका मौलिक कथा, कला, रीतिरिवाज, भेषभुषा, परम्परा, भाषासंस्कृती र ऐतिहासिक, पर्यटकीय र धार्मिक स्थलहरूको प्रचारप्रसार गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा पुर्याउने कार्य गरिएको छ।
ड. तीनै तहका सरकारलाई नेपाली चलचित्रबारे जानकारी प्रदान गर्ने दायित्व र आगामी दिनमा के नगरीकन हुदैन भन्ने विषयमा व्यापक छलफल गरिएको थियो।

कार्यक्रमको उपलब्धि र निष्कर्ष:
“नेपाल घुमौँ, नेपाल चिनौँ” भन्ने नेपाल सरकारको नारालाई प्रभावकारी बनाउन कर्णालीमा आयोजना हुने “कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव” ले यहाँका मौलिक कथा, कला, रीतिरिवाज, भेषभुषा, परम्परा, भाषासंस्कृती र ऐतिहासिक, पर्यटकीय र धार्मिक स्थलहरूको प्रचारप्रसार गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा पुर्याउने कार्य गरेको छ। यस महोत्सवले कर्णालीका युवाहरू, महिलाहरू र कलाकारलाई प्रोत्साहन गरेको छ। महोत्सवमा कर्णाली र बाहिरका चलचित्रकर्मीहरूका लागि प्रोत्साहनमूलक एक स्मरणीय र प्रभावकारी कार्यक्रम भएको थियो। यस क्षेत्रको मात्र नभई नेपालको विविध संस्कृति, भाषा, जीवनशैली, सुन्दर प्राकृतिक स्थलहरू, यहाँका समस्याहरू र स्थानीय सरकारसँगको सहकार्य समन्वय गर्ने कार्यलाई महोत्सवले योगदान दिएको छ। यस क्षेत्रमा चलचित्र र पर्यटनको विकासमा योगदान दिने चलचित्र छायांकनका लागि आह्वान गर्दै अन्तर्राष्ट्रिय चलचित्रकर्मीलाई सन्देश दिने गरी यो महोत्सव आयोजना गरिएको थियो। महोत्सव कर्णालीमा चलचित्र र पर्यटनको विकासमा कोसेढुङ्गा साबित भएको छ।

चक्र बहादुर चन्द, महोत्सव निर्देशक