बाग्मती सफाई महाअभियान : १२ वर्षको सफल यात्रा
२०७० साल जेठ ५ गतेबाट सुरु भएको बाग्मती सफाई महाअभियानले १२ वर्ष पुरा गरी १३ औँ वर्षमा प्रवेश गरिसकेको छ। काठमाडौं उपत्यकाको मुटु हुँदै बग्ने पवित्र बाग्मती नदीको संरक्षण र पुनर्जीवनका लागि सुरु गरिएको यो नागरिक अभियान स्वयंसेवी रुपमा एकैदिन एकै समय संचालनमा रहेको हालसम्मकै सबैभन्दा लामो, निरन्तर र जनसहभागितामा आधारित महाअभियान बन्न सफल भएको छ।

अभियानको सुरुवात र उद्देश्य
बाग्मती नदी धार्मिक, सांस्कृतिक र पर्यावरणीय दृष्टिले अतुलनीय सम्पदा हो। तर बढदो सहरीकरण, जनसंख्याको चाप, फोहोर व्यवस्थापनको अभाव र जनचेतनाको कमीले गर्दा नदी अत्यन्तै प्रदूषित र दुर्गन्धित बन्दै गएको थियो। यस समस्यालाई समाधान गर्नका लागि नागरिक अगुवाहरू, राज्य, सुरक्षाकर्मी, संघसंस्थाहरू र स्थानीय बासिन्दाहरूको सक्रिय सहकार्यमा बाग्मती सफाई महाअभियान सुरु गरिएको हो।

यसको मूल उद्देश्य नदी सफा गर्नु मात्र होइन, नदीप्रतिको सामाजिक उत्तरदायित्व र नागरिक चेतना जागृत गर्नु हो।

  • १२ वर्षको समर्पित यात्रा
    १२ वर्षको अवधिमा अभियानले निम्न उपलब्धिहरू हासिल गरेको छ ।
  • हरेक शनिबार बिहान ७ बजे नियमित रूपमा सफाई कार्य सञ्चालन हुदै आएको छ।
  • हालसम्म २० हजार मेटिक टनभन्दा बढी फोहोर संकलन गरिएको छ।
  • देशब्यापी ११० भन्दा बढी स्थानहरूमा सफाई अभियान फैलिएको छ — उपत्यकामा बाग्मती सहित बाग्मतीका शाखा नदीहरु जस्तै विष्णुमति, धोवीखोला, हनुमन्ते, मनोहरा, गोदावरी, बल्खु एवं चक्रपथका बिभिन्न स्थान तथा भित्री टोलहरुमा अभियान संचालनमा रहेको छ ।

लाखौं स्वयंसेवक — नेपाल सरकारका विभिन्न निकायहरु, सामाजिक÷धार्मिक संघ संस्थाहरु तथा बाग्मती सफाइ अभियन्ताहरुको संयुक्त प्रयासमा संचालित यो अभियानमा नेपाली सेना, सशस्त्रप्रहरी, नेपाल प्रहरी, गायत्री परिवार, यस ट्राभल्स डट कम, नेपाल विज्ञापन संघ, नेपाल चलचित्र कलाकार संघ, प्याब्सन, एनप्याब्सन, नेपाल टेलिकम, लगायत लाखौंको संख्यामा विद्यार्थी, शिक्षक, कर्मचारी, व्यवसायी, उद्योगपति, पत्रकार, कलाकार, डाक्टर, इन्जिनियर, समाजसेवी, राजनीतिकर्मी आदिको सहभागिता भएको छ ।

  • प्रमुख उपलब्धिहरू
    नदी किनारको हरियाली र सौन्दर्यकरणमा सुधार ।
  • नदीप्रतिको जनचेतना र सरोकार अभिवृद्धि ।
  • सरसफाइ संस्कृतिको स्थायीत्वमा योगदान ।
  • नीतिगत दबाब र कानुनी सुधारको पहल ।
  • मुख्य चुनौतीहरू ।
    निरन्तर फोहोरको डम्पिङ र स्रोतमै नियन्त्रणको अभाव ।
  • प्रभावकारी ढल व्यवस्थापन प्रणालीको अभाव ।
  • बाग्मती करिडोर निर्माणमा ढिलाइ ।
  • निजी र सरकारी निकायबीच समन्वयको कमजोरी ।

आगामी दिशा
अबको लक्ष्य बाग्मती नदीलाई पुनर्जीवित गर्ने हो — जुन स्वच्छ, प्रवाहयुक्त र जीवन्त होस्।
यसका लागि :

  • दीर्घकालीन योजना निर्माण ।
  • ढल र फोहोर स्रोतमै नियन्त्रण ।
  • वृक्षारोपण र जैविक प्रविधिको प्रयोग  ।
  • जनचेतना अभिवृद्धि ।
  • कडा कानुनी कार्यान्वयन आवश्यक छ।

निष्कर्ष
बाग्मती सफाई महाअभियानले नेपाली समाजमा नागरिक जिम्मेवारी, सरसफाइ संस्कृति र वातावरणीय चेतनाको जग बसाल्न ऐतिहासिक भूमिका खेलेको छ। १२ वर्षको यो यात्रा एक सकारात्मक परिवर्तनको प्रेरणादायी कथा हो, जसले देखाउँछ संकल्प, सहभागिता र निरन्तरताले नै यो परिवर्तन सम्भव भएको छ ।

बाग्मतीमा पौडी खेल्जुपर्छ त्यो पनि हाम्रै पालामा