नेपालको हिमाल पारीको जिल्लाको रुपमा परिचित मनाङ हिमाली जिल्ला मध्यको एक जिल्ला हो । यो जिल्ला प्राकृतिक रुपमा निकै मनमोहक मात्र छैन यहाँका तालहरु विश्व प्रसिद्ध समेत रहेका छन् । यही मध्यको एक ताल हो गंगापूर्ण ताल । मनाङ जिल्लाको ङिस्याँङ गाउँपालिका वडा नं ६ मा रहेको ३५४० मिटरको उचार्इमा रहेको गंगापूर्ण ताल यही जिल्लाको तिलिचो तालपछिको एक महत्वपूर्ण पर्यटकीय ताल हो । गंगापूर्ण हिमाल, अन्नपूर्ण–४, खाङसार काङ, ग्लेसियर डोमबाट बगेर आएको हिमनदीबाट बनेको मनमोहक ताल पछिल्लो समय ताल पुरिदै गएपछि अहिले तालको ३० प्रतिशत भाग मात्र रहेको छ । बाँकी ताल हिमपहिरोका कारण हिमनदी बग्ने क्रम बढेपछि त्यसले बगाएको बालुवा र माटोले ताल पुरिदै गएको छ। यो हरेक बर्ष बढदो क्रममा रहेको छ ।

झन्डै २१ दशमलव ०८ हेक्टर क्षेत्रफलमा फैलिएको यो तालको एउटा अचम्मको बिशेषता छ । यो ताल सिजन अनुसार तिन किसिमको रंगले बन्ने गर्छ । १. सफा भएको बेला निलो, २. वर्षायाममा सेतो ३. हिउँदमा हिउँ जम्ने गर्छ । यो ताल पुग्न माथिल्लो मनाङबाट करिव १५ मिनेटको हिडेपछि गंगापूर्ण ताल पुग्न सकिन्छ मनाङ जिल्लामा गंगापुर्ण ताल सहित ६० भन्दा बढि साना र ठूला ताल,कुण्ड र पोखरी रहेका छन् ।
यो ताल माथिल्लो मनाङसम्म पुग्ने पर्यटकको लागी निकै महत्वपूर्ण ताल समेत हो । यही ताल आसपासमा केही बर्षअघि नेपालको बहुचर्चित चलचित्र प्रेमगीत ३ छायांकन समेत गरिएको थियो। विश्वप्रसिद्ध अन्नपूर्ण पदमार्ग थोरङला भन्ज्याङ क्रस गर्न आएका पर्यटकहरूको लागी यो गंगापूर्ण ताल महत्वपूर्ण रहने गर्छ । तर  हरेक बर्ष ताल चपेटामा पर्दा यहाँ आउने पर्यटकहरूका लागी केही खिन्न भने अवश्य बनाउछ । आकर्षणको केन्द्र रहेको ताल पुरिँदै गएपछि तालको सौन्दर्यतामा समेत असर परेको छ । संकटमा परेको ताललाई फराकिलो र आकर्षक बनाउन यहाँका जनप्रतिनिधिहरु लागीरहेका छन् । तर राज्यबाट यस तालको संरक्षण समय मै गर्न जरुरी छ ।