उ बेलाको दैलेख कोतगढ़ी र आसपास

दैलेखको नाम “दैवलोक” बाट दैलेख रहन गएको विश्वास छ् । जसको शाव्दिक अर्थ देवताहरूको घर हो।यहाँ शिवका परम भक्त दधिची ऋषिले तपस्या गरेको जन विश्वास रहेको छ ।
दैलेखका पहाडहरू शिव र शक्तिलाई समर्पित पवित्र तीर्थहरूले भरिएका छन्। स्वस्थानी शिवपुराणको सन्दर्भमा सतीको खुट्टा खसेको स्थान पादुकास्थानलाई मानिन्छ । यहाँका अन्य शिवशक्ति स्थलहरू नविस्थान, धुलेश्वर, शिरस्थान र कोटिलास्थान हुन्। यी तिर्थस्थललाई पञ्चकोशी भनिन्छ। दैलेख र सिंजाभ्याली १२औं शताब्दी देखि १४ औं शताब्दी सम्म खस राज्यको हिस्सा थिए ।
दैलेख जिल्लाको परिचय:-
परिचय:-
दैलेख जिल्ला कर्णाली प्रदेशमा प्रर्ने एक जिल्ला हो। यो जिल्लाको सदरमुकाम दैलेख बजार हो। दैलेख जिल्ला कर्णाली प्रदेश क्षेत्र अन्तर्गत पूर्वमा जाजरकोट उत्तरमा कालिकोट पश्चिममा अछाम र दक्षिणमा सुर्खेत जिल्ल्लाका वीचमा रहेको एक रमणीय मध्य पहाडी जिल्ला हो । यो जिल्लाको सदरमुकाम दैलेख बजार काठमाडौंबाट करिब ६५० किलोमिटर पश्चिम, कोहलपुरबाट १५० किलोमिटर र सुर्खेत उपत्यकाबाट ६५ किलोमिटर उत्तरमा रहेको छ । ऐतिहासिक धरोहरका रूपमा रहेको यस पहाडी जिल्लाको उत्तर सिरमा मनमोहक महावुलेक दक्षिण र पश्चिममा कर्णाली नदी र जिल्ला भित्र लोहोरे छामघाट खोला शीरस्थान, नाभिस्थान, पादुका, कोटीला धुलेश्वर जस्ता पानीमाथि दीप ज्वाला वल्ने पाँचकोशी तीर्थस्थलका नामले प्रसिद्ध रहेकाका क्षेत्रहरू यहाँ छन् । भैगोलिक रूपमा विकट रहेतापनि यो जिल्लाको पर्यटकीय विकासका सम्भावना उच्च रहेको छ । यस जिल्लाका प्रमुख व्यापारिक केन्द्रहरूमा नारायण नगरपालिका, दुल्लु, रानीमत्ता, नौमुले, वेस्तडा, कर्णाली नदीको काखमा अवस्थित तल्लो डुङेश्वरबजार, ठाँटीकाट, रामघाट बजार रहेका छन् । प्राकृतिक र ऐतिहासिक दृष्टिकोणले महत्वपूर्ण रहेको यस जिल्ला धार्मिक र प्राकृतिक तथा जल सम्पदामा पनि धनि रहेको छ । विभिन्न मठ, मन्दिर, पर्यटकीय तिर्थस्थल तथा विभिन्न नदीहरूका साथमा रहेका प्राकृतिक मनोरम दृश्यहरू तथा प्राकृतिक श्रोतको व्यापक उपलब्धता यस जिल्लाका पर्यटकीय सम्भावनाका आधारहरू हुन्। यस जिल्लामा तिब्रतर रूपमा सडक, पुल-पुलेसा, मठ, मन्दिर, देवल, होटल, लज र ब्यापारिक केन्द्रहरू निर्माणमा रहेका छन् । जिल्लाको लकान्द्राको जौचौरको पहिरोमा तामा र फलामको खानीहरू पुरिएको छ भन्ने भनाइ रहेको छ। त्यस्तै कालिकोट र दैलेखको सिमानामा पर्ने भुवानथानको लेकमा स्थानिय भाषामा झिलझिले ढुङ्गा भनिने काईनेटिक ढुङ्गाको खनन तथा प्रसोधन भैरहेको छ। यसै गरी दैलेखमा चुनढुङ्गा र अभ्रखका खानीहरू छन् भन्ने वैज्ञानिकहरूको भनाई रहेको छ। जिल्लाको विभिन्न स्थानमा पाइने सिलेट घरको छानो बनाउने प्रयोगका लागि बाह्य जिल्लामा समेत निर्यात गरिन्छ ।
इतिहास
दैलेख जिल्ला बाइसे चौबिसे राज्यकालमा खस राज्यको शीतकालीन राजधानीको रूपमा परिचित दुल्लु र बेलासपुर राज्यमा विभाजित थियो । प्राचीन र मध्यकालमा दुई राज्यमा विभाजित यस जिल्लालाई शाहकालीन नेपालको पुर्नएकीकरण अभियानमा बहादुर शाहले सन १७८९ तिर नेपालमा गाभेको तथ्य ऐतिहासिक वर्णनहरूमा पाइन्छ ।जिल्लाका विभिन्न ठांउमा रहेका मन्दिर, देवल, शिलालेख आदिले यस जिल्लाको ऐतिहासिक परिचय दिइरहेका छन्। सदरमुकाम स्थित पुरानो बजारमा रहेको प्रसिद्ध कोतगढी पुरानो युद्धकिल्लाको रूपमा थियो भन्ने विश्वास गरिन्छ । बि.सं.२००९ साल अघि अछाम, सुर्खेत र जाजरकोट जिल्लाका केही क्षेत्रहरू यसमा गाभिएका थिए । राजा रजौटा उन्मुलन ऐन २०१६ पछि आधुनिक नेपालको प्रशासनिक ढाँचा बमोजिम गौडा र २०१८ सालपछि यो जिल्ला पूर्वमा भैरीलेक र कट्टीभञ्ज्याङ्ग उत्तरमा महाबुलेक, पश्चिममा कर्णाली नदी, दक्षिणमा तीनचुला भित्रको भूभागलाई दैलेख जिल्लाको सिमाङ्कन गरिएको थियो।
