फिल्म प्रिमियर शो चमक दमक र हलका रित्ता सिट
नेपाली फिल्म उद्योगको ६ दशक लामो इतिहास छ । लामो ईतिहास बोकेको नेपाली फिल्म क्षेत्रले धेरै उतारचढावका बीच आफ्नो निरन्तर यात्रामा लम्किरहेको छ । पछिल्ला केही वर्षहरूमा नेपाली फिल्म उद्योगले उल्लेखनीय प्रगति गरेको छ । ठूला बजेटका फिल्महरू निर्माण हुनु, आधुनिक प्रविधिको प्रयोग, कलाकारहरुको उत्कृष्ट अभिनय र अन्तर्राष्ट्रिय फिल्म महोत्सवहरूमा समेत नेपाली फिल्मको बलियो उपस्थितिले पनि यसलाई एक नयाँ मोडमा पुर्याएको छ । तर एउटा डरलाग्दो विडम्बना भने यही भित्र लुकेको छ त्यो हो फिल्मको प्रिमियर शो को चमक दमक र हलका रित्ता सिटहरूको असमानता । प्रिमियर शोमा सेलिब्रेटी, रातो कार्पेट, र मिडिया हाइप हेर्न लायकको बनाईएको हुन्छ यतिसम्म कि प्रिमियर शो नेपाली फिल्मको प्रचारप्रसारको एक महत्त्वपूर्ण अंग नै बनेको छ । ठूला ठूला होटलहरू हुन वा सिनेमा घरलाई सिँगारेर रातो कार्पेट बिछ्याएर सेलिब्रेटी आगमन, आकर्षक पोशाक, र मिडिया क्यामेराको चमकले सजिएका यी कार्यक्रमहरू ‘स्टारडम’देखाउने महत्वपूर्ण थलो बन्दै आएका छन्। फिल्म निर्माण समूह र निर्मातादेखि निर्देशकले प्रिमियर शोलाई एक ‘सिनेम्याटिक इभेन्ट’को रूपमा प्रस्तुत गर्छन्। प्रिमियर शो सोसल मिडिया, युट्युब, र समाचारमा यसरी चर्चा चुलिन्छ कि यसले फिल्मको प्रचारप्रसारमा एकदमै प्रभावकारी भूमिका खेलेको देखिन्छ। फिल्म सिंगो टिम बिशेष गरी यसका निर्माताहरूलाई लाग्छ कि प्रिमियरमा उपस्थित मिडिया र फिल्मबारे समालोचकहरूले दिने सकारात्मक प्रतिक्रियाले चलचित्र घरमा दर्शक ओइरिने यो नै पर्याप्त हो भन्ने लाग्छ । अझ अचम्मित कुरा के हो भने प्रिमियरमा प्रतिकृया का लागी को बढी चर्चामा छ कसको सोसल मिडियामा फलोअर्स धेरै छ त्यो ब्यक्तिलाई छानीछानी युट्युब र समाचारका लागी प्रतिकृया दिन योग्य बनाइन्छ । अझ पछिल्लो समयमा त चलचित्र क्षेत्र भन्दा बढी राजनीति दलका नेतालाई प्राथमिकताका साथ बोलाईन्छ हालका दिनमा नेताप्रति आम नागरिकको हेर्ने दृष्टिकोण के छ त्यो लेखिराख्नु परेन बोलीराख्नु परेन यसले फिल्मलाई सपोर्ट हैन नकारात्मक प्रभाव बढी परेको छ भलै अमुख नेतामा त्यो नपर्ला । यो भन्दा अझ अर्को सोसल मिडियाका भाइरल ब्यक्तिहरु तर समाजले उसलाई हेर्ने दृष्टिकोण एकदमै नकारात्मक छ त्यस्ता ब्यक्तिबाट चलचित्र बबाल छ एकपटक हेरौ अहिलेसम्म यस्तो कथामा फिल्म बनेकै छैन भन्ने जस्ता रेडिमेट प्रतिक्रियाले झन आमदर्शकमा नकारात्मक प्रतिक्रिया हावी भैरहेको स्थिती छ । नेपाली फिल्मका आम दर्शकले बुझिसकेका छन् । प्रिमियर शोमा प्रतिक्रिया दिन आउने ब्यक्ति लगभग बर्षभरि पूर्व निर्धारीत नै छन् उनीहरुले दिने प्रतिक्रिया अब दर्शकले पत्याउन छोडिसके । त्यसकारण अब यसमा आमूल परिवर्तन ल्याउन आवश्यक छ ।
प्रिमियर नगरी पनि फिल्म चल्छन् भन्ने पछिल्लो उदाहरण छक्कापञ्जा ५ र १२ गाऊँ हुन जुन फिल्मको प्रिमियर नगरी नै फिल्म ब्लक्बास्टर साबित भए । प्रिमियर नगरी फिल्म चल्दैन भन्ने लाग्छ भने अब चलचित्र निर्माणका लागी खटिने टिम स्पटब्यायदेखि क्यामेराम्यानसम्म लेखकदेखि निर्देशकसम्मका अनुभवमा चलचित्र बनाउन कस्तो मेहनत गर्नुपर्यो त्यो कुरालाई प्रिमियरको प्रतिक्रियामा राख्दा बरु दर्शकले पत्याउने छन् । केही नयाँ भने पक्कै आउछ नभए रेडिमेट प्रतिक्रियाले एकछिनको लागी सोसल मिडिया, युट्युब, र समाचारका भित्ता त रंगियलान जब चलचित्र प्रर्दशन हुन्छ तब हलका रित्ता सिटहरूले भने जिस्काइरहने छन् । सबै फिल्ममा यो स्थिती नहोला तर ८५ प्रतिशत नेपाली फिल्मको स्थिती यही नै हो भन्दा फरक नपर्ला । यसलाई चलचित्रका निर्माता निर्देशक र सिंगो टिमले आत्मालोचना गरी अब यसमा परिवर्तन ल्याउन जरुरी छ । तामझाम प्रिमियर हैन फिल्मको कथा फिल्म निर्माणमा ध्यान दिन आवश्यक छ । आजका दर्शकले प्रिमियमको तामझाम विश्वास गर्दैन चलचित्रको कथा प्रस्तुतिकरण र निर्माणलाई विश्वास गर्छन जब दर्शकबाट फिल्म मनपराईन्छ अझ भन्नुपर्दा फिल्मको कथा प्रस्तुतिप्रति विश्वास जागेर आउछ दर्शकबाट माउथ पब्लिसिटी शुरु हुन्छ सोसल मिडियामा सकारात्मक तरंग पैदा हुन्छ र त्यो प्रिमियमको तामझाम भन्दा माउथ पब्लिसिटी भयानक शक्तिशाली हुन्छ । त्यसकारण आम दर्शक केन्द्रित चलचित्र निर्माणमा ध्यान दिन आवश्यक छ ।
निम्न बुदाँहरुलाई महशुस गरी अगााडी बढन सके नेपाली फिल्मले ब्यवसायीक सफलता पाउने छ ।
हलमा दर्शक नआउने समस्या के हो ?
तामझाम र मिडिया प्रचारपछि आउने वास्तविकतामा सन्तोषजनक अवस्था छैन। अधिकांश नेपाली फिल्मको प्रिमियर शोमा सबैले खुबै प्रशंसा गरे पनि, हलमा भने दर्शकको संख्या अत्यन्त न्यून हुने गर्छ । प्रिमियर शोमा आउने रेडिमेट प्रतिक्रिया तामझाम र उत्साहको प्रभावले दर्शकलाई हलसम्म तान्न असफल भइरहेको स्थिती छ। त्यसमा पनि अझ फिल्मको गुणस्तर, नेपाली फिल्मको प्रदर्शनका समयमा कहिलेकाहीं हलिउड वा बलिउडसँगको प्रतिष्पर्धा गर्नु, आम दर्शकले समेत नेपाली फिल्महरूमा अन्तर्राष्ट्रिय स्तरको मेकिङ, कथा, निर्देशन र अभिनयको अपेक्षा गर्नु तर नेपाली फिल्ममा त्यो नपाउँदा निराश हुनु पनि हो ।
ओटी टि र डिजिटल प्लेटफर्मको प्रभाव :
सस्तो इन्टरनेटको पहुँचका कारणले आम दर्शकहरु नेटफ्लिक्स, अमेजन प्राइम, यूट्यूव जस्ता ओटी टि प्लेटफर्मको आगमनसँगै दर्शकको रोजाइ बदलिएको छ। मानिसहरूले आफ्नो समय र पैसा बचाएर घरमै फिल्म हेर्न रुचाउँछन्। नेपाली फिल्मलाई पनि केही समयपछि युट्युबमा रिलिज गर्ने चलन भएका कारण दर्शक हलमा जान कम मन पराउँछन्। ओटी टि र डिजिटल प्लेटफर्मका बारे पनि अब बिचार गर्नुपर्ने समय आएको छ ।
नेगेटिभ वर्ड अफ माउथ पब्लिसिटी :
प्रिमियर शोमा फिल्मको हाइप भएपनि वास्तविक दर्शकले फिल्म हेरेपछि नकारात्मक प्रतिक्रिया आउनु , फिल्म प्रचार गर्ने त्यही पुरानो फण्डा शैलीको प्रचलन जुन दर्शकले हालका दिनमा नकारात्मक बुझने गरेको छन्। सामाजिक सञ्जालमा नकारात्मक टिप्पणी र समीक्षाले पनि फिल्मको व्यापारमा गम्भीर असर पारेको छ ।
समाधानका उपाय :
गुणस्तरीय फिल्म निर्माण, चलचित्रको कथावस्तुको गहिराइ, निर्माणमा गुणस्तर र नेपालीपन हुन आवश्यक छ। दर्शकलाई आफ्नो कला, कथा, परिवेश, संस्कृति र अनुभवसँग फिल्मको कथा मनपर्ने हुनुपर्छ। यसले दर्शकहरुलाई हलसम्म तान्न ठुलो बल पुग्छ।
मार्केटिङ रणनीति :
मिडियामा मात्रै होइन, हलसम्म दर्शक ल्याउन फिल्मको प्रचारमा नयाँ सोचको प्रयोग गर्नुपर्छ। फिल्मको वास्तविक दर्शक वर्गलाई लक्षित गरेर उनीहरूसँगको संवादलाई सुधार गर्न जरूरी छ। समय अनुसारका फरक शैली अपनाउनु पर्छ । भ्यूज र न्यूज अनी लाइक र कमेन्टमा भर पर्नुहुन अझ भ्यूज र फिल्म प्रदर्शनका समयमा खरिद गर्ने टिकटको पैसालाई फिल्म निर्माणका समयमा खर्चेर उत्कृष्ट चलचित्र निर्माण गर्न सक्नु बुद्धिमता हुनजान्छ।
निष्कर्ष : नेपाली फिल्म उद्योगले प्रिमियर शोको चमक दमक त निकै हासिल गरेको छ, तर त्यो चमक दमकले हलको रित्तोपनलाई लुकाउन सकेको छैन। फिल्म सफल हुनका लागि सस्तो प्रचार र मिडिया हाइपभन्दा सशक्त कथा, कला, उत्कृष्ट निर्देशन, स्तरिय निर्माण र दर्शकको साथ धेरै आवश्यक हुन्छ जसका कारण हलका रित्ता सिटहरूलाई भर्नका लागि समग्र फिल्म उद्योगले आफ्नो प्रचलनलाई पुनर्विचार गर्न जरुरी छ। दर्शकको विश्वास जित्न सकेमा मात्रै प्रिमियर शोको उत्साहले वास्तविक फिल्मको उत्साहको अर्थ राख्नेछ।
जय नेपाली सिनेमा
चक्र बहादुर चन्द, सामाजिक अभियन्ता तथा चलचित्र निर्माता

