चक्र बहादुर चन्द, सामाजिक अभियन्ता तथा चलचित्र निर्माता
नेपालको कर्णाली प्रदेशको मुगु जिल्लामा अवस्थित रारा ताल हिमाली क्षेत्रको लुकेको रत्नका रूपमा चिनिन्छ। नेपालको सबैभन्दा ठूलो ताल र प्राकृतिक सौन्दर्य तथा जैविक विविधताले भरिपूर्ण यो ताल केवल पर्यावरणीय गहना मात्र नभई समग्र परिस्थिति सन्तुलन, , इको-पर्यटन, र चलचित्र छायाङ्कनका लागि समेत एक उत्कृष्ट स्थल हो । हालै रारा ताल क्षेत्रमा सम्पन्न दोस्रो संस्करणको कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (KIFF) ले जलवायुको मुद्दा समेत उठान गरेको छ । यो महोत्सव केवल चलचित्रको उत्सव मात्र नभई, वातावरणीय चेतना, स्थानीय पहिचान, र दिगो विकासका लागि एक साझा मञ्च बनेको छ। “घुमौं कर्णाली, हेरौं कर्णाली” भन्ने मूल नारासहित महोत्सवले दुर्गम हिमाली क्षेत्रको सम्भावना र चुनौतीलाई अन्तर्राष्ट्रिय स्तरमा पुर्याउने काम गर्यो। जलवायु, पर्यटन, र चलचित्रको अन्तर्सम्बन्धबारे दुई मुख्य सत्रमा गहन छलफल भएको थियो।
अभिनेता तथा महोत्सवका सद्भावना दूत प्रदीप खड्काले रारालाई केवल छायाङ्कन स्थल नभई विश्वस्तरको प्राकृतिक स्टुडियोको रूपमा प्रस्तुत गर्नुपर्नेमा जोड दिनुभएको थियो । ‘प्रेम गीत २’ चलचित्रको रारामा छायाङ्कन अनुभव सुनाउँदै वहाँले चलचित्रले दिगो पर्यटन प्रवर्द्धन र अन्तर्राष्ट्रिय ध्यान तान्न सक्ने बताउँनु भएको थियो । वहाँले भन्नुभयो जलवायु परिवर्तनबाट कर्णाली जस्ता पहाडी क्षेत्रले भोगिरहेको असरको क्षतिपूर्ति माग्न अब अन्तर्राष्ट्रिय समुदायलाई जिम्मेवार बनाउनुपर्ने समय आएको छ । हिउँ पग्लनु, वर्षाको अनियमितता, र खाद्य सुरक्षाको संकटले जलवायु न्यायको मागलाई आवश्यक बनाएको छ । यहाँको जनजीवनलाई खतरातीर धकलिरेहको छ यसको गम्भिर बहस हुन जरुरी छ । भन्दै आफू ८–९ बर्ष अगााडी प्रेमगीत २ चलचित्र छायांकन गर्न आउदा यहाँ झिगा थिएन तर अहिले झिगा देखियो यो पनि एक सूक्ष्म तर गम्भीर पर्यावरणीय संकेत देखा परेको बिचार राख्नु भयो । सामान्यतया सानो लाग्ने यो कुरा वास्तवमा गम्भीर पर्यावरणीय असन्तुलन र मानवजन्य दबाबको चेतावनी हो, जसलाई उपेक्षा गर्नु खतरनाक हुनसक्छ भन्दै यसमा हामी सबै गम्भिर भएर लाग्नुपर्ने अपील गर्नुभएको थियो ।
झिगाको समस्या: सानो देखिए पनि गम्भीर संकेत
हाल रारा क्षेत्रमा झिगाको अस्वाभाविक वृद्धि देखिएको छ। स्थानीय बासिन्दा, गाइड, र आगन्तुकहरू सबैले गर्मी याममा झिगाको अस्वाभाविक उपस्थिति अनुभव गरेका छन्। खाना वरिपरि, होटल, र क्याम्प साइटहरूमा झिगाले असहजता मात्रै होइन, पर्यावरणीय असन्तुलनको गम्भीर संकेत पनि दिएको छ।
यो समस्या केवल मौसमी वा संयोग मात्र होइन यो जलवायु परिवर्तन, वन फँडानी, फोहोर व्यवस्थापन र पर्यावरणीय चेतनाको अभाव सँगै यो खतराको घण्टि पनि हो। जलवायु परिवर्तनका कारण उच्च पहाडी क्षेत्रमा तापक्रमको बृद्धि र वर्षाको अनियमितताले वातावरणीय सन्तुलनमा असर पुर्याएको छ। असामान्य गर्मी भैरहेको छ जसका कारण झिगाको प्रजननका लागि अनुकूल वातावरण बन्छ जसले तिनीहरूको जीवनचक्र विस्तार र संख्यामा समेत वृद्धि गर्छ। यसका लागी वन विनाशलाई रोक्न जरुरी छ दाउरा, निर्माण सामग्री, वा खेतीका लागि भएका वन कटानहरूले झिगाको प्राकृतिक सत्रु जीवहरु जस्तै चराहरू, भ्यागुताहरू, चमेराहरूको संख्या दिनानुदिन घटदो छ । यसले प्राकृतिक नियन्त्रण प्रणालीलाई कमजोर बनाउछ। अझ यसमा बिशेष गरी जनचेतनाको अभाव रहेको छ । स्थानीय नागरिक, यहाँ आउने आगन्तुकहरूमा पर्यावरणीय सचेतनाको कमी छ। फोहोर व्यवस्थापन, जैविक फोहोरको कम्पोस्टिङ, वा वरिपरि सफा राख्ने कार्यमा लापरवाही हुदाँ थप समस्या श्रृजना भएर परिस्थिती झन गम्भीर बनाइरहेको छ। झिगाको यो संकेतले जलवायू परिवर्तनको असर त देखा परि नै सक्यो यसले रोगजन्य ब्याक्टेरिया बोक्ने भएकाले खाना, पानीमा समेत जोखिममा पार्न सक्छ। अब फोहोर ब्यवस्थापन बारे पनि सोच्न बाध्य बनाएको छ । रारा ताल आसपासमा फोहरहरु देखा परेको छ । यही कारण ले रारा तालमा पानी प्रदूषित भएमा यहाँ पाइने दुर्लभ प्रजातिका माछा र तल्लो क्षेत्रमा बसोबास गर्ने मानिसहरूको स्वास्थ्यमा असर पर्न सक्छ । यदि रारामा आउने पर्यटकहरूले अस्वस्थ र असजिलो गन्तव्यको रूपमा लिन थाले भने यस क्षेत्रको पर्यटन अर्थतन्त्रमा पनि गम्भीर असर पर्न सक्छ। अन्तर्राष्ट्रिय इको टुरिजमको प्रतिस्पर्धी बजारमा यस्तै साना साना समस्या पनि रारा तालको ब्रान्डको छविमा ठुलो असर पुग्न सक्छ।
के हुन त समाधानका उपायहरु
१. पूर्वाधार सुधार, नीति निर्माण : रारा ताल क्षेत्रमा पर्यावरणीय सन्तुलन पुनर्स्थापना गर्न समग्र रणनीति आवश्यक रहेको छ, जसमा स्थानीय सहभागिता, पूर्वाधार सुधार, नीति निर्माण र कार्यान्वयन पक्ष बलियो बनाउनु पर्छ।
२. फोहोर व्यवस्थापनमा सुधार : रारा ताल वरपर फोहर ब्यवस्थापनमा कडा नियम लागु गर्नुपर्छ।
३. जनचेतना र शिक्षा : पर्यटक, गाइड, होटेल सञ्चालक, र स्थानीयवासीहरूलाई फोहर ब्यवस्थापन, सरसफाइ र वातावरणीय स्वास्थ्यको सम्बन्धमा जानकारी दिन आवश्यक छ। डष्टवीनहरु, सूचनापाटी, कार्यशाला, र सामुदायिक अभियान संचालन गरी सबैलाई जिम्मेवारी बोध गराउन सकिन्छ।
४. नियमित सरसफाइ अभियान : स्थानीय तह, युवा समूह वा नगरपालिकाको नेतृत्वमा ताल वरपर र पदमार्गमा नियमित सरसफाइ अभियान सञ्चालन गर्नुपर्छ।
५. सरोकारवाला समन्वय : स्थानीय सरकार, पर्यटन बोर्ड, वातावरणविद्,र स्थानिय समुदायबीच सहकार्य गर्नुपर्छ।
कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (KIFF) को उद्देश्य केवल चलचित्र प्रदर्शनमा सीमित छैन। कर्णालीको जैविक, सांस्कृतिक र सामाजिक विविधतालाई चलचित्र मार्फत विश्वसामु चिनाउँदै यसले यस क्षेत्रलाई जिम्मेवार पर्यटन र हरित फिल्म निर्माणको केन्द्र बनाउने लक्ष्य लिएको छ। यस महोत्सव अन्तर्गत सम्पन्न ‘रारा फिल्म पर्यटन तथा जलवायु समिट’ले जैविक विविधता, दिगो पर्यटन, र जलवायु सहनशीलतामा केन्द्रित गहिरो छलफलको अवसर प्रदान गर्यो। वातावरणविद्, कलाकारहरु,नीति निर्माता, युवा नेताहरू स्थानिय सरकार प्रमुख र यूवाहरु र अन्य सहभागीहरूले रारा तालको संरक्षणका बिषयमा बिभिन्न उपायहरूबारे छलफल भएको थियो । प्यानल छलफलको एक सत्रमा झिगा जस्ता सूक्ष्म संकेतहरू जलवायु परिवर्तनसँग कसरी सम्बन्धित छन् भन्ने विषयमा समेत विश्लेषण पनि भयो ।
रारा क्षेत्रमा देखिएको झिगाको समस्या केवल एक स्थानीय समस्या होइन, यो विश्वका अन्य संवेदनशील पारिस्थितिक तन्त्रका लागि पनि चेतावनी हो। यदि रारा जस्तो दुर्गम र स्वच्छ क्षेत्र पनि मानव लापरवाही र जलवायु लापरबाहीको असरमा पर्न सक्छ भने, विश्वमा कुनै पनि प्राकृतिक सम्पदा पूर्ण सुरक्षित छैनन भन्ने उदाहरण पनि । स्थानीय पहलहरूलाई राष्ट्रिय नीति र अन्तर्राष्ट्रिय समर्थनले साथ दिनुपर्छ । सरसफाइ अभियान, जनचेतना, पूर्वाधार सुधार, र वातावरणीय कानुन कार्यान्वयन सँगसँगै अघि बढ्नुपर्छ । चलचित्र, मिडिया र महोत्सवहरूले अग्रपंक्तिमा रहेका समुदायको आवाजलाई अझ बुलन्द बनाउँदै लैजानुपर्छ।
निष्कर्ष
रारा केवल एक ताल मात्र होइन यो नेपालको हिमाली क्षेत्रमा रहेको एक अनुपम उपहार हो । एक पर्यावरणीय धरोहर, सांस्कृतिक सम्पदाको दर्पण, र दिगो विकासको असिम सम्भावना बोकेको प्रतीक पनि हो। यसको निर्मल पानी, यहाँ पाईने बिभिन्न प्रजातीका माछा, जैविक विविधताले हामीलाई प्रकृतिसँगको हाम्रो सम्बन्धलाई अझ मिठास गरी सम्झाउँछ, जसले सौन्दर्यको अनुभूति गराउँछ ।
रारा तालको संरक्षण अब पनि कुनै वैकल्पिक कामको रुपमा लिनु हुदैन यो हाम्रो साझा भविष्य हो । जलवायु परिवर्तनका असरले यहाँको पर्यटन, स्थानीय अर्थतन्त्र, जैविक प्रणाली, र सांस्कृतिक जीवनशैली पनि जोखिम जान लागेको संकेत यीनै झिगाले गरेका छन्। यदि अहिले नै सचेत कदम चालिएन भने समयको बेगसँगै हामीले पाएको एउटा अनुपम सम्पदालाई गुमाउने मात्र छैनौ हामीले भावी पुस्ताको लागि सुरक्षित राख्नुपर्ने प्राकृतिक उपहारको गम्भीर ह्रास भएको देख्नु पर्नेछ।
अब समय आएको छ–नीति निर्मातादेखि स्थानीय बासिन्दा, शोधकर्तादेखि कलाकार, सरकारी संयन्त्रदेखि अन्तर्राष्ट्रिय संस्थासम्म सबैले संयुक्त रूपमा रारा तालको संरक्षणमा अहिलेदेखी नै जुट्नुपर्छ। वातावरणीय शिक्षा, जनचेतना, सरसफाइ अभियान, हरित पूर्वाधार निर्माण, र इकोटुरिजम प्रवर्द्धन सँगसँगै अघि बढ्नु आजको आवश्यक्ता हो । किनभने रारा केवल कर्णालीको गौरव मात्र होइन—यो सम्पूर्ण मानव सभ्यताको लागि एक अनुपम जीवन्त उदाहरण हो, जहाँ प्रकृति, संस्कृति र मानव अस्तित्वको सुन्दर सम्भावना पाइन्छ। राराको संरक्षण हाम्रो संवेदनशीलता, जिम्मेवारी र भविष्यप्रतिको दृष्टिकोणको परीक्षण पनि हो। रारामा देखिएका संकेतहरू हामी सबैको लागि चेतावनी हुन्—अब निर्णायक कार्यको समय हो, किनभने राराको प्रतिबिम्बमा हामीले हाम्रो पृथ्वीको भविष्य देख्न सक्छौं।
जय रारा जय कर्णाली जय प्रकृती

Leave a Reply